इलम गर्नेलाई खोज्नु प¥यो सरकार

नेपालको समग्र विकासक्रम जसरी अगाडि बढिरहेको छ यही विकासक्रमलाई मात्र विश्लेषण गर्ने हो भने पनि भने अनुसार विकास अघि बढेको छैन भन्नेहरूको तर्कमा बहुमत पुग्छ । यो विषय विकसित मुलुकहरूमा पनि यस्तै हो । समय र परिस्थिति अनुसार विकसित देशहरू र अल्पविकसित देशहरूमा प्रयोग हुने स्रोत र साधनहरूको विषय फरक हुन सक्छ । विकसित मुलुकमा भएका विकासहरूलाई पनिअझै पुगेको छैन भन्ने भावना गरिकहरूमा हुनु स्वाभाविक हो ।अल्पविकसित मुलुकहरूका नागरिकहरूमा पनि विकसित देशहरूको जस्तो विकास कहिले होला भनेर आशा गर्नु स्वभाविक हो । विकसित मुलुकहरूले इलम अर्थात् उत्पादनलाई बढी महत्व दिएकै कारण आफूले उत्पादन गरेका वस्तुहरूलाई विश्वबजारमा सहज पु¥याएका छन् । अल्पविकसित मुलुकहरूमा भने इलम गर्नेहरू भन्दा जनतालाई ठगी गरेर छिटो भन्दा छिटो कसरी धनी बन्न सकिन्छ भन्नेहरूको होडबाजी धेरै चलेको देखिन्छ । त्यसैले इलम गर्नेहरू ओझेलमा पर्ने र दलालहरूको बिग बिगी कायमै रहेको छ ।

यस्तो जालो तोड्ने काम नेपालमा सरकार चलाएका प्रमुखहरू र स्थायी सरकार चलाएका राष्ट्र सेवक कर्मचारीहरूले गर्नुपर्ने हो । हिजो देखि जसरी सरकार चलेका छन् सोही अनुसार अहिले पनि सरकार चल्न थाल्यो भने वा इलम गर्नेहरूलाई सरकारले खोज्न सकेन भने सरकारप्रतिको वितृष्णा झनै बढेर जाने निश्चित देखिन्छ ।

अल्पविकिसत मुलुकहरूको सूचीमा रहेको नेपाल विकसित मुलुकको सूचीमा अगाडि बढ्दै गरेको अवस्थामा स्थायी रूपमा सरकार सञ्चालन हुन नसकेका कारण समस्या देखिएको जो कोहीलाई पनि थाहा छ । नेपाल र अमेरिकामा आएको दैविक विपत्तीको विश्लेषण गर्दा नेपालमा आएको बाढी पहिरोसँगै केही समय पछि अमेरिकामा पनि दैवी प्रकोप आयो, विपत्ती कति वेला, कहाँबाट आउँछ र कुन स्थानमा क्षति हुनसक्छ भनेर अमेरिकाले पनि प्रारम्भिक अनुमान गरेर केही वस्तीहरूलाई सुरक्षित हुन भन्यो, नेपालमा पनि अति जोखिम हुने स्थानहरू भनेर सरकारले एक साता अघि देखिनै सुरक्षित रहन भनेको थियो । हुनुपर्ने र गर्नुपर्ने जे थियो त्यति मात्र हो । अर्को कुरा विपद् आएपछि त्यसबाट कसरी नागरिकहरूलाई सुरक्षित गर्ने भन्ने विषयमा विकसित राष्ट्रहरू र अल्पविकसित राष्ट्रहरूसँग स्रोत साधनहरूको परिचालनमा तल माथि हुन सक्छ तर सरकारले गर्नुपर्ने साझा दायित्व भनेको जे जति स्रोत साधनहरु छन् त्यसको भरपुर परिचालन गर्ने हो । विपद् आएपछि नेपालमा पनि सरकारको विरोध भयो र अमेरिकामा पनि सरकारको विरोध भयो यसरी हेर्दा विपद्को विषयमा जे जसरी कामहरू विकसित र अल्पविकसित मुलुकहरूमा गरिएका छन् सोही अनुसार विकास, सुशासन र समृद्धिका लागि गर्नुपर्ने हो । नेपाल लगायतका अल्पविकसित मुलुकहरूमा भने आपत् पर्दा जसरी प्रभावकारी कामहरू गरिएका हुन्छन् सोही अनुसार कृषि, पूर्वाधार, पर्यटन, शिक्षा र स्वास्थ्यको क्षेत्रमा किन गर्न सकिएको छैन यो विषय अहिलेका लागि गम्भीर समीक्षा गर्नुपर्ने विषय हो ।

जसरी नेपालमा जहानियाँ शासन फाल्नका लागि, राजतन्त्र फाल्नका लागि नेपालका राजनीतिकदलहरू एकजुट भए, त्यसरी नै संघीयता ल्याउनका लागि र नेपालमा दिगो शान्ति स्थापनाका लागि नेपालका राजनीतिकदलहरू एकजुट भए सोही अनुसार प्राप्त परिवर्तनलाई संस्थागत रूपमा विकास गर्नका लागि विकास र समृद्धिमा पनिदलहरू एक हुनुपर्ने हो । तर नेपालको सन्दर्भमा दलहरू विकासका सन्दर्भमा एक हुन सकेको देखिदैन । समृद्धिको सवालमा एकजुट हुन सकेको देखिदैन । सरकारले जबसम्म कृषि क्षेत्रमा इलम गर्नेहरूलाई खोजी गरेर अनुदानवा सुविधा प्रदान गर्ने व्यवस्थालाई व्यवहारिक रुपमा लागू गर्न सक्दैन तब सम्म नेपालको समग्र विकास सम्भव देखिँदैन । त्यसैले नेपाल कृषि प्रधान देश भएकाले पनि कृषि क्षेत्रमा आकर्षित गर्नका लागि पनि सरकारले कृषि र कृषकका लागि व्यवहारिक तवरले प्राथमिकता दिनुपर्ने देखिन्छ । यसतर्फ तीनै तहका सरकारको वेलैमा ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार